Feedback

   

कोषसंग सम्बन्धित प्रश्नोतर संग्रह

योगदानकर्ताले गलत विवरण पेश गरी बढी सुविधा दावी गरेको प्रमाणित भएमा के हुन्छ ?

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ४७ बमोजिम योगदानकर्ताले गलत विवरण पेश गरी बढी सुविधादावी गरेको पाइएमा निजबाट त्यस्तो रकम असुल उपर गर्ने व्यवस्था रहेको छ ।

समयमा योगदान रकम जम्मा नगरे के हुन्छ ?

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ९ बमोजिम तोकिएको समय भित्र योगदान रकम जम्मा नगरेकोषमा जम्मा गर्नु पर्ने रकममा दश प्रतिशत ब्याज समेत थप गरी कोषले रकम असुल उपर गर्ने साथै समयमा योगदान रकम जम्मा भएन भने योगदानकर्ताले पाउने औषधी उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा दुर्घटना र अशक्तता एवं आश्रित परिवार सुरक्षा योजनाको सुविधाबाट समेत वञ्चित हुन्छ ।

योगदान रकम कति समयभित्र कोषमा जम्मा गरि सक्नुपर्दछ ?

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ७ अनुसार योगदान योग्य आय भुक्तानी गर्नु पर्ने महिना समाप्त भएको पन्ध्र दिनभित्र कोषमा रकम जम्मा गरि सक्नु पर्दछ ।

योगदान योग्य आय भन्नाले के बुझिन्छ ?

योगदान योग्य आय भन्नाले श्रमिकले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारीबाट दैनिक, साप्ताहिक, पाक्षिक वा मासिक रुपमा प्राप्त गर्ने प्रचलित कानून बमोजिम कर कट्टि गर्नु पूर्वको आधारभूत पारिश्रमिक सम्झनुपर्दछ ।

आश्रित परिवार भन्नाले के बुझिन्छ ?

आश्रित परिवार भन्नाले योगदानकर्ताको एकाघरमा बस्ने देहायको नाताको कुनै जीवित व्यक्ति सम्झनु
पर्दछ ।
क) पति वा पत्नी,
ख) छोरा बुहारी वा छोरी,
ग) बाबु आमा सासु वा ससुरा,
घ) नाति वा नातिनी ।

सामाजिक सुरक्षा योजनामा सहभागी हुन कति प्रतिशत रकम योगदान गर्नुपर्दछ ?

रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी जम्मा ३१ प्रतिशत रकम मासिक र
नियमित रुपमा योगदान गर्नुपर्दछ ।